वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतमा गौतमको सांसदको योग्यता सम्बन्धी परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दाएर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्