सचिवालय बैठक बोलाउन तयार भए प्रधानमन्त्री ओली, जिम्मा महासचिव विष्णु पौडेललाई

काठमाडौं , कार्तिक २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।

पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य ९प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ० ले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।

उच्च स्रोतका अनुसार, आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार भएका छन् । बैठक बोलाउने जिम्मा ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई दिएका छन् ।बैठक बोलाउने जिम्मा पाए लगत्तै महासचिव पौडेल सोमबार खुमलटार पुगेका थिए । तर, प्रचण्ड र पौडेलबीच भएको सम्वाद खुलाइएको छैन ।

यता, प्रचण्डसहितका पाँच नेता भने सचिवालय बैठक नबोलाइएको भन्दै मंगलबार दिउँसो चार बजे धुम्बाराहीमा बैठक बस्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्