नेकपा विवाद: तत्काल बैठक बोलाई निकास खोज्न अनुशासन आयोगको आग्रह
काठमाडौं , कार्तिक २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह छन् ।
अन्तरपार्टी विवादलाई मार्क्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीका आधिकारिक निकायलाई गतिशील तुल्याई विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाएका हुन् ।
अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’
उनले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गरेका छन् ।
‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु’, बोहोराले भनेका छन् ।
उनले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको भन्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराएका छन् । आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेको भन्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु रहकाले त्यतातर्फे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन । उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ । तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पु(याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ रु यो गल्ती हामीले कदापि गर्नु हुँदैन । पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ । पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ’, बोहराको भनाइ छ ।
उनले पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्ने भन्दै हृदयमा विशालता नभए त्यो कम्युनिष्ट हुँनै नसक्ने दावी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्