प्रधानमन्त्री ओलीले बोलाए महासचिव पौडेल नेतृत्वको कार्यदलका सदस्यहरुलाई बालुवाटार

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव पौडेल नेतृत्वको कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलएका छन्। पार्टीभित्र देखिएका विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलएका हुन्।

अध्यक्ष ओलीले अहिले दिउँसो छलफलका लागि बोलाएका हुन्।कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ।कार्यदलले दिएको प्रतिवेदनका आधारमा नेकपाको स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षहरुले पार्टीभित्रको विवाद समाधानका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

महासचिव पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा सदस्य छन्।पार्टी विवाद समाधानबारे सो कार्यदलले अध्ययन गरेर एक प्रतिवेदन तयार गरी भदौको पहिलो साता दुई अध्यक्षलाई बुझाएको थियो।

त्यसका आधारमा दुई अध्यक्षले संयुत्त प्रस्ताव स्थायी कमिटीमा पेश गरेका थिए।त्यस आधारमा कमिटीको बैठकले पार्टी र सरकार सञ्चालनबारे निर्णयहरु गरेपछि नेकपाभित्र चर्केको शक्ति संघर्षमा युद्ध विराम भएको बताइएको थियो।

तर त्यसको केहि हप्तामै पार्टीका शीर्ष नेताबीच नै फेरि विवाद सुरु भएको छ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुले बैठक बोलाउनका लागि ओलीसँग लिखित माग गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

कात्तिक १५ मा अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको भेटपछि पार्टीमा फेरि संकट गरिदिएको छ । त्यो भेटमा ओलीले सल्लाहमा अलग होऔं भन्ने प्रस्ताव राखेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री ओली पक्षले भने प्रचण्डले प्रधानमन्त्री पद मागेको दाबी गरेका छन् ।

पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित बहुमत सचिवालय सदस्य (प्रचण्ड, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ० ले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाएका छन् ।

यता सत्तारुढ दल नेकपामा देखिएको आन्तरिक संकट समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबाट प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उत्साहित र माधवकुमार नेपाल पक्ष निराश देखिएको छ।

प्रतिक्रिया दिनुहोस्