प्रचण्ड–नेपाल पक्षले बैठक बोलाउन दिएको समयसीमा आज सकिँदै, अब के गर्लान ओली ?

काठमाडौं, कार्तिक २४ । पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय आज सकिँदैछ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न ओलीलाई आग्रह गरेका थिए ।तर, उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले अझै त्यसबारे निर्णय गरेका छैनन् ।

यद्यपि उनले आन्तरिक छलफल बढाएका छन् ।ओली प्रचण्डसँग छुट्टै संवाद र सहमतिपछि मात्रै बैठक बोलाउने पक्षमा छन् । त्यसका लागि उनले शनिबार ५ जना नेताहरु र आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेताहरुसँगको भेटमा पनि सहमति गरेर मात्रै बैठक बोलाउनुपर्ने आशय व्यक्त गरेका छन् ।छलफलमा ओलीले पार्टी विभाजनबाट जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

उनले आफू निकटस्थ नेताहरूसँग पनि परामर्श गरेका छन् । तर, बैठक डाक्ने नडाक्ने भन्नेबारे अझै निधो गरेका छैनन् । अझै पनि अर्का अध्यक्ष दाहालसँग पूर्वसहमति गरेर मात्रै बैठक डाक्ने तयारीमा रहेका ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका छन् ।

ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेलले दुई अध्यक्षबीच समझदारीको कोशिस गरिरहेको स्रोतले बताएको छ ।आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका ओली फेरि रक्षात्मक बनेका छन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल(नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल(नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स(साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् । विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल(नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

हिजो मात्रै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर पार्टी विवादका विषयमा छलफल गरेका थिए । नेभेटमा प्रधानमन्त्री ओलीले नेता नेपालसँग नेकपा फुटको डिलमा पुगेकाले बचाउन आग्रह गरेका थिए भने विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्