उखु किसानले मंसिर २७ गतेदेखि फेरि आन्दोलन गर्ने

काठमाडौं , कार्तिक २३ । उखु किसानका माग अहिले सम्म सरकारले सुनेको छैन । जति आन्दोलन चर्काएपनि सरकार भने कानमा तेल हाले जस्तै हुन्छ । उनीहरुका माग त पुरा गर्छौ भन्छन् तर ब्यवहारमा लागु भएको भने छैन् । आफ्ना माग नसुनेपछि फेरि उखु किसानहरुहरु आन्दोलनमा होमीने भएका छन् । उनीहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

यता मन्त्री भट्टले भने बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहोर्‍याएका छन् ।किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उनले जसरी पनि समस्या समाधान गरिने बताए ।न्याय दिलाउने भन्दै कृषकहरुलाई आन्दोलन नगर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्