नेकपा विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीले गरे माधव नेपालसहित ४ नेतासँग छलफल

काठमाडौं , कार्तिक २३। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।

नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले सचिवालयको बैठक बोलाउन माग गरेकै भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा यो भेट भएको हो ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।उनीहरूबीच नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।

पार्टीमा उत्पन्न विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुले पनि सक्रियता बढाएका छन् ।पाँच नेपाले पत्र बुझाएको भोलिपल्टै ओलीले नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्