प्रधानमन्त्री ओलीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई दिए बधाई

काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । ब्याटलग्राउण्ड मानिएको राज्य पेन्सिलभेनिया र नेभादामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले जित हासिल गरेसँगै उनी अमेरिकाको ४६औं राष्ट्रपतिमा विजयी भएका हुन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । यसैबीच अफ्रिकी मुलकी अश्वेत नागरिक कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएकी छन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन । सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जमैकन बुबा र भारतीय मुलकी आमाबाट जन्मिएकी ह्यारिसले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेर इतिहास रचेकी छन् ।

प्रतिक्रिया दिनुहोस्