देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

काठमाडौं , कार्तिक २२ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ ।

उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ । “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भनिन्, “केही दिन तराईमा पातलो कुहिरो लाग्‍ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्य कमजोर बनाउनेछ ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्