प्रचण्ड समूहले ओलीलाई बुझायो २ पृष्ठ लामो पत्र, तत्काल बैठक बोलाउन माग

काठमाडौँ, कार्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । बैठक बोलाउन माग गर्दै उनीहरुले ओलीलाई लिखित पत्र बुझाएका हुन् ।

दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रचण्ड नेतृत्वको टोलीले दुई पृष्ठ लामो पत्र बुझाएर बैठकको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिए ।प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बालुवाटार पुग्नअघि आज पनि प्रचण्डसहितका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए ।यसअघि हिजो धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

यता पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् । यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए । ओलीले बुधबार र बिहीबार आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए

प्रतिक्रिया दिनुहोस्