मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस्

 

काठमाडौं , कर्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराएको एक मन्त्रीले बताए । उनका अनुसार, ‘उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखा परेको बताउनुभयो । यो संकट अझै बढ्न सक्ने प्रधानमन्त्रीज्यूको भनाइ थियो । सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्ने उहाँको आशय थियो ।’

साथै ती मन्त्रीले बैठकमा प्रधानमन्त्री निकै चिन्तित देखिएको पनि बताए । तर उनले पार्टीमा देखिएको संकटबारे भने नखुलाएको उनको भनाइ छ । अहिले नेकपाभित्र विवाद चर्किरहेको छ । यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्