सकियो ओली-प्रचण्डबीचको छलफल , आज पनि भएन सहमति

काठमाडौ , कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो। बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

यता एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल(नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स(साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल(नेपाल समूह ओलीलाई पदच्युत गर्ने दाउमा लागेको बताइन्छ ।

पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्