भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा, यस्तो छ भेटघाट कार्यक्रम

काठमाडौँ, कार्तिक १९ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज काठमाडौं आइपुगेका छन् ।तीन दिने औपचारिक भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका हुन् ।

भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका हुन् ।सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा नरवाणेको स्वागत गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।नेपाल भ्रमणमा रहेका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने छन् ।

उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ ।भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो ।

त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।

यसैबीच नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा गरिएको छ । मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं आउन लागेका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।

सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ ।नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण नरवणेको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्