वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता
काठमाडौं , कार्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । वस्तुगत उपाध्यक्षमा श्रेष्ठ दोस्रो कार्यकालका लागि दोहोरिन चाहेका हुन् ।
यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।
उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी गरे ।
उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए ।
‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएको उनले बताए ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।















प्रतिक्रिया दिनुहोस्