चिनियाँ विदेश मन्त्रालयले भन्यो- नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीनमात्र हुन्

काठमाडौं , कर्तिक १८ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग नमिचेको प्रतिक्रिया दिएको छ । चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको र त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिएको हो ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले सीमा मिचिएका समाचारहरु हल्ला मात्रै भएको बताएका हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन् उनले भने ।

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको दाबी गरिएको छ भने विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी सहित बिरोध पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्