तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ, कार्तिक १८ । सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ ।धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकराले बंगलादेशबाट रासायनिक मल ल्याउने तयारी थालेको थियो ।

गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । मौखिक सहमति भएको दुई महिना बितिसक्दासमेत प्रक्रिया नटुगिङ्दा गहुँमा हाल्न मल अभाव हुने सम्भावना देखिएको छ।

गहुँ लगाउने समयका लागि रासायनिक मल ल्याउने तयारी भए पनि अझै समय लाग्ने देखिएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बताए । उनका अनुसार अब केही दिनमा दुई देशका कम्पनीबीच मल खरीद सम्झौतामा हस्ताक्षरको तयारी भएको छ ।

हस्ताक्षर भएपछि खरीदका लागि मन्त्रिपरिषद् बैठकको अनुमतिसँगै प्रक्रिया शुरु हुनेछ ।कृषि कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको बताइएको छ ।

कात्तिक महिनामा मल खरीदको सम्झौतामा हस्ताक्षर गरेर मङ्सिर पहिलो सातादेखि ढुवानी हुने विश्वास गरिएको छ ।

कृषि मन्त्रालयले मल खरीदको जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्