अमेरिकी राष्ट्रपति चुनाव आज : आगामी चार वर्ष ट्रम्प कि वाइडेन ?
काठमाडौं, कार्तिक १८ ।अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । विश्वव्यापी कोरोना संकटकै बीच अमेरिकामा आज राष्ट्रपति चुनाव हुन लागेको हो । चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ ।
यो चुनावले अमेरिकामा ५८ औं राष्ट्रपति छान्नेछ । जसले चुनावमा बाजी मार्ने छ उसले अमेरिकाको चार वर्षे बागडोर सम्हाल्ने छ ।चुनावअघि भएका विभिन्न सर्वेक्षणले बाइडनको पक्षमा बलियो मत देखिन्छ । सर्वेक्षणको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार बाइडन ट्रम्पभन्दा झण्डै १० प्रतिशत मतले अगाडि छन् ।
एनबीसी न्यूज र वालस्ट्रिटले चुनावको दुई दिन अघि गरेका सर्वेक्षणले बाइडेन ५२ र ट्रम्पको पक्षमा ४२ मत खस्ने रिपोर्ट सार्वजनिक गरेका छन् ।कोरोना भाइरसले सबैभन्दा प्रभावित बनेको अमेरिकामा राष्ट्रपति ट्रम्पले सङक्रमण नियन्त्रणका लागि उचित कदम नचालेको आरोप छ ।
कोरोनाले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।
सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ ।
हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था ९अर्लि भोटिङ्ग० मार्फत करिब नौ करोड ७९ लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्