एक करोड रूपैयाँसहित तीन जना हुण्डी कारोबारी काठमाडौँबाट पक्राउ

काठमाडौँ, कार्तिक १८ । हुण्डी कारोबारमा संलग्न तीन जना काठमाडौँबाट पक्राउ परेका छन् ।हुण्डी कारोबारको रकमसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

काठमाडौँको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित सोमबार बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिए ।

उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।

नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।रकम विदेश पठाउने तयारी भएको आशंका प्रहरीले गरेको छ ।उनीहरुमाथि ब्यूरोले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्