महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता
काठमाडौं , कार्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष किशोर प्रधानले मनोनयन गर्दा गराएका छन् । प्रधानले प्यानलसहित नै आज दिउँसो महासंघ सचिवालयमा निर्वाचन समितिसमक्ष मनोनयन दर्ता गराएका हुन् ।
आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि उम्मेदवारी घोषणा गरेको बताए । उनीसँगै उनको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिले मनोनयन दर्ता गराएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उमेदवार वर्तमान उपाध्यक्ष चन्द्र ढकालले पनि प्यानलसहित नै मनोनयन गर्दा गरिसकेका छन् ।
प्रधान समूहमा रहेका वस्तुगत तर्फका उपाध्यक्षका उमेदवार श्रेष्ठले वस्तुगततर्फको सदस्यहरु पनि घोषणा गरेका छन् । प्रधानको प्यानलबाट वस्तुगततर्फको सदस्यहरुमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैरे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनील गोपाल श्रेष्ठ छन् ।
यसैगरी एसोसिएट तर्फका सदस्यहरूमा विजयसिह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारीया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति वेगानी र उदीप श्रेष्ठ छन् ।
मनोनय दर्ताअगाडि आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उमेदवार प्रधानले आफूहरुको टिमको विजय सुनिश्चित रहेको दाबी गरे । उनले देशका तमाम व्यवसायीहरुको हितमा काम गर्ने बताए । महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने भन्दै उनले महासंघको सुदृढीकरण र शुद्धीकरणका लागि आफ्नो टिम रहेको बताए ।
महासंघका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रधानको टिमलाई जिताउन आग्रहसमेत गरे । यो साधारणसभापछि गोल्छाले अध्यक्षको पदभार ग्रहण गर्नेछन् । आफू अर्थतन्त्र शून्यमा झरेका बेलाको चुनौतीपूर्ण अवस्थामा महासंघको नेतृत्व सम्हालन गइरहेको भन्दै उनले प्रधान समूहको साथले अहिलेको अर्थतन्त्रलाई उकास्न सकिने बताए ।
जिल्ला नगरतर्फका उपाध्यक्ष उमेदवार दिनेश श्रेष्ठले प्रधानको टिमलाई जिताउन आग्रह गरे । यस्तै वस्तुगत तर्फबाट उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठले कोभिड १९ पछि आर्थिक क्षेत्रमा सुधारका लागि प्रधानको टिमलाई जिताउन आग्रह गरे ।
महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले कोभिडले अर्थतन्त्रलाई निकै अप्ठ्यारो पारेका बेलामा पनि सरकारले नहेरेको बताए । महामारी रोक्न नसक्नु सरकार असफलता भएको उनले टिप्पणी गरे । उनले प्रधानको टिमले अर्थतन्त्रलाई माथि उकास्ने काम गर्ने बताए । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ । महासंघको ५४ औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड(१९ का कारण स्थगित भएको थियो ।















प्रतिक्रिया दिनुहोस्