सरकारी अस्पताललाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन

काठमाडौं १६ कात्तिक । सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए । उनले सक्नेसँग शुल्क लिने र नसक्नेलाई नि :शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत रहेको पनि पून: दोहोर्याए ।सरकारले कोरोना संक्रमितको स: शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छन् ।

सुरूआतदेखि नै संक्रमितको नि:शुल्क उपचार गर्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि संक्रमितलाई उपचारअघि ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ।

सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयं व्यक्तिबाट नै असुल्ने भने पनि खर्च बेहोर्न नसक्ने संक्रमितको भने नि:शुल्क उपचार गर्ने भनेको छ। त्यसका लागि सरकारले विभिन्न आधारहरू तोकेको छ।

सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको नि:शुल्क उपचार गर्ने भनेको छ। त्यसका लागि आधार बिरामीले नि:शुल्क उपचारको सेवा लिन उल्लेखित प्रमाण पत्र अस्पतालमा पेस गर्नुपर्ने छ। त्यसको आधारमा बिरामीले उपचार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्