केपी-प्रचण्डको भेट र एक्लाएक्लै वार्ताको औचित्य छैन: नेता खनाल
काठमाडौं, कार्तिक १४ । कात्तिक ४ गतेयता ओली र प्रचण्डको एक्लाएक्लै भेट पनि ठप्प छ ।मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस र कर्णाली प्रदेश प्रकरणपछि दुई अध्यक्षबीच संवादहीनता झाँगिएको छ । भेटघाट पनि हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले तीनजना नेता पठाएर छलफलका लागि आग्रह गरेपछि प्रचण्डले इन्कार गर्दै आएका छन् । कोरोना संक्रमणका कारण हाल आइसोलेसनमा रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्माको सम्पर्कमा पुगेकाले अहिले भेट्न नसक्ने बताए पनि खासमा प्रचण्डको छलफल प्रति रुचि नै नरहेको उनी निकटस्थहरू बताउँछन् ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको एक्लाएक्लै भेटवार्ताको आवश्यकता र औचित्यता दुवै नरहेको बताएका छन् ।
दुई अध्यक्षको तारन्तारको भेटवार्ता र छलफलले कुनै निकास दिन नसकेको र पार्टीभित्रको तमाम अन्तर्विरोध समाधान गर्न नसकेको भन्दै ओली(प्रचण्डको भेटको कुनै अर्थ नरहेको बताएका हुन् ।
खनालले भने दुई जना अध्यक्ष बसेर समाधान नहुने तर्क गरेका छन् ।
यता खनालले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । उनले सचिवालय बैठक बसेर निकास निकाल्नुपर्ने पनि बताए । नेकपा सचिवालयको ६९औं बैठक २० असोजमा बसेको थियो । त्यसयता नेकपाको सचिवालय बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्