भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ : ने.का.

काठमाडौं १३, कात्तिक । नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

वर्तमान विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय अत्यन्य सामान्य कुरा बनिसकेको छ । नेपालका विद्यार्थी भारत र भारत विद्यार्थी भारतका विभिन्न सहरमा अध्ययनरत छन् । जो–जहाँ पढिरहेका छन्, सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन, त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहीँ पनि कोही एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोही पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छ भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ। नेपाली काँगे्रसले आज निकालेको विज्ञप्तिमा भनिएको छ ।

विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि देहरादुनमा भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ । साथै विद्यार्थीहरुको सुरक्षाका बारेमा गम्भीर पहलकदमी गर्न र आगामी दिनमा यस्ता घटना कहीँ कतै हुन नदिन आवश्यक सतर्कताका लागि पनि सरकारसँग जोडदार माग गरेको छ ।

गएको कात्तिक १० गते विजयादशमीको दिन गते देहरादुनको डिकिलिङमा रहेको शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गरेको खबर सार्वजनिक भएको थियो । ५१ जना विद्यार्थीले दशैँ–तिहारको बिदामा घर जान पाऊँ भन्दै निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले घटनाबारे ध्यानाकर्षण भइसकेको र सत्य तथ्य बुझ्ने काम भइसकेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्