कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिउ: नेता नेपाल
काठमाडौं, ४ कार्तीक । सरकारले कोराना संक्रमितको उपचार नगर्ने गरी गरेको निर्णलाई तत्काल फिर्ता लिन सरकारलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेका छन् ।
उनले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै नागरीकको उपचारमा प्रतिपद्ध हुन पनि आग्रह गरेको छ ।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए ।
मंगलबार नेता नेपालले विज्ञप्ति जारी गर्दै कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको समेत उल्लेख गरेको छ ।
प्रेस विज्ञप्ति
मुलुक कोभिड(१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।
संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।
माधवकुमार नेपाल
पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता
नेकपा




प्रतिक्रिया दिनुहोस्