एट्लेटिको म्याड्रिडले कोस्टा भित्र्याउने

(एजेन्सी) । पूर्व एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा पुनः एट्लेटिको फर्किने भएका छन् । हाल चेल्सीमा आबद्ध कोस्टा क्लबसँग झगडा परेका कारण आफ्नो घर ब्राजिलमै समय बिताइरहेका छन् ।

कोस्टाले यस अघि चेल्सीले एट्लेटिको म्याड्रिडसँग चाहिने भन्दा बढि रकम मागेर आफूलाई एट्लेटिको म्याड्रिड जान रोकेको आरोप लगाएका थिए ।

अन्तमा दुई क्लब बीच सम्झौता भएको छ । विभिन्न पत्रपत्रिका अनुसार कोस्टाको सम्झौता सन् २०२१ को जुनसम्मको हुने छ । उनलाई एट्लेटिकोले ५५ मिलियन पाउन्ड दिएर भित्राउने छन् । यसैका साथ उनी क्लबका सबैभन्दा महँगा खेलाडी पनि हुने छन् ।

एट्लेटिको म्याड्रिडले आधिकारिक रुपमा कोस्टालाई २०१८ को जनवरी १ देखि मात्र खेलाडीका रुपमा दर्ता गर्ने छ । सोहि दिन नयाँ ‘ट्रान्सफर विन्डो‘ खुल्नका साथै एट्लेटिकोको ट्रान्सफर प्रतिबन्ध पनि हट्ने छ ।

सन् २०१४ मा एट्लेटिकोबाटै चेल्सी प्रस्थान गरेका कोस्टा चेल्सीको च्याम्पियन्स लिगको टोलीबाट बहिष्कार गरिएको थियो । प्रशिक्षण मैदानमा बहस परेपछि चेल्सीमा कोस्टाको स्थान अन्योलमा परेको हो ।

चेल्सीले कोस्टाको ठाउँमा एल्भारो मोराटा भित्र्याइ सकेको छ । यस सिजन चेल्सी प्रिमियर लिग तालिकामा तेस्रो स्थानमा छ भने एट्लेटिको म्याड्रिड पनि ला लिगाको तेस्रैमा छ । त्यस्तै चेल्सी र एट्लेटिको म्याड्रिड आउने बिहिबार च्याम्पियन्स लिगमा पनि भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्