स्वास्थ्य मन्त्रालयले भन्यो -गाउँमा नयाँ व्यक्ति आए छिमेकी मिलेर एक साता क्‍वारेन्टिनमा राख्‍नुस्

काठमाडौं, असोज ३० । पछिल्लो समय नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् ।देशभरका निजी तथा सरकारी प्रयोगशालामा दैनिक १६ हजारमाथि व्यक्तिको परीक्षण हुँदा औसतमा चार हजार बढी संक्रमित भेटिन थालेका छन् ।

पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा संक्रमितको संख्या उकालो लाग्दोक्रममा छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँमा नयाँ व्यक्ति आएका भए छिमेकीहरु मिलेर एक साता क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले टोल वा गाउँमा नयाँ व्यक्ति आएका छन् भने छिमेकीहरुले मिलेर ती व्यक्तिलाई कम्तिमा क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेका हुन् ।होम आइसोलेसनमा बसेमा व्यक्ति घर बाहिर निस्किएमा नजिकैको सुरक्षा प्रहरी वा स्वास्थ्य मन्त्रालयका टोल फ्रि नम्बरमा खबर गरिदिन पनि उनले आग्रह गरेका छन् ।

पीसीआर गर्न स्वाब दिएका व्यक्तिहरुलाई परीक्षणको रिपोर्ट नआउँदासम्म घरमै बसिदिन पनि उनको आग्रह छ । राजनीति दलका नेताहरु भिडभाडमा जाने र त्यही भिडबाट कोरोना सर्ने गरेको जानकारी भएको हुँदा सभा र सम्मेलनमा नजान समेत मन्त्रालयको आग्रह छ ।

यता सरकारले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको बताएपनि नतिजा भने भरोसा गर्न सकिनेखालको देखिँदैन ।सरकारको उदासीनता र सर्वसाधारणको लापरबाहीका कारण संक्रमण बढेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्