सञ्चारमन्त्री गुरुङ भन्छन -बाङ्गो टिङ्गो सुझाव दिनेलाई कारबाही गर्छु

काठमाण्डौ , असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने उल्लेख गरे ।कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए ।

यस्तै मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै उनले बिहीबार अपराह्न मन्त्रालयमा पदभार ग्रहण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्