भारतीय सेना प्रमुख नेपाल आउँदै, राष्ट्रपतिले मानार्थ ‘महारथी’ पदवी दिने

काठमाडौं, असोज २८ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल आउने भएका छन्। सेना प्रमुख नरवणे आगामी महिना नेपाल आउन लागेका हुन्।

नरवणे नेपालमा भ्रमणका लागि नोभेम्बर महिनामा आउन लागेको नेपाली सेनाले जनाएको छ।बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकालेर नरवणे नेपाल आउन लागेको बताए पनि भ्रमणको विस्तृत कार्यतालिका भने स्पष्ट गरेको छैन।

भारतीय सेना प्रमुख नरवणेको भ्रमण मिति तय गर्न दुई देशका सेनाबीच छलफल चलिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताएका छन्।

नेपाली सेनाले भारतीय सेना प्रमुख नरवणेलाई नेपाल भ्रमणका लागि ३ फेब्रुअरीमा निमन्त्रणा पठाएको विज्ञप्तिमा भनिएको छ।तर, कोरोना महामारीपछिको ‘लकडाउन’ का कारण उनको भ्रमण स्थगित भएको निर्देशनालयले जनाएको छ।

सेना प्रमुख नरवणेको नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

गत जेठमा नेपालले नयाँ कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि ‘चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको’ भनेपछि रनवणे विवादमा तानिकाए थिए।

सेनापतिका रुपमा यो उनको पहिलो नेपाल भ्रमण हुनेछ।

प्रतिक्रिया दिनुहोस्