गृहमन्त्री थापा र इयुका राजदूतबीच भेटवार्ता, भयो यस्तो छलफल

काठमाडौं , असोज २८ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ (इयु)का राजदूत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले इयुको नेपालका लागि राजदूतको रुपमा नियुक्त हुनुभएकोमा राजदूत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।उनले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदूत देप्रेजसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदूतमार्फत धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन् ।

उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिनु । नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदूत देप्रेजले दिइन् । भेटमा उनले नेपालको संघियताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्