कर्णाली विवाद: ओली-प्रचण्डबीच आज पनि छलफल , के भयो कुराकानी ?

काठमाडौं , असोज २८ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछाडि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको छ ।

मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।

नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बिहान सवा नौ बजे बालुवाटार पुगेका थिए ।

दुई अध्यक्षबीच अढाइ घण्टा लामो सम्वाद भएको छ । कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच छलफल भएको छ । तर, ठोस् सहमति भने जुट्न सकेन । ‘कर्णालीका नेताहरुसँग बसेपछि मात्रै समाधानको विकल्पमा छलफल हुन्छ, आज त्यस्तो ठोस् निष्कर्ष आएन’, बालुवाटार स्रोतले भन्यो ।

दुई अध्यक्ष ओली र प्रचण्डले पत्र पठाउँदै थप कदम कसैले नचाल्न निर्देशन दिएका छन् भने भोलि छलफलका लागि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाइएको छ । बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।

बिहीबार दुवै अध्यक्ष बसेर छलफल गर्ने कार्यसूची छ ।त्यसपछि मात्रै यो समस्या किनारा लाग्ने बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्