बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारबाही : महान्यायाधिवक्ता खरेल

काठमाडौं , असोज २८ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जसले बलात्कारका घटनामा मिलापत्र गराउँछ अब उसलाइ कडा कारबाही गरिने बताएका छन् । बलात्कारका घटना सभ्य समाजका लागि कलंक भएको भन्दै मिलापत्र र समझदारी गराउनु कसूरजन्य कार्य हुने उनले बताए । ​

महान्याधिवक्ता खरेलले विज्ञप्ती निकाल्दै बलात्कारका घटनामा जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र र समझदारी भएको समाचारहरू आएको भन्दै त्यसो गर्नु कसूरजन्य कार्य रहेकाले अक्षम्य हुने उनले चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कसूरको अनुसन्धानको प्रक्रियामा यस्ता विषयमा सम्बद्ध पीडित, नागरिक समाज, जनप्रतिनिधि एवम् सरोकारवाला निकायबाट समुचित सहयोग हुनेछ भन्ने विश्वास लिएको छु। यो क्रममा सबै सरकारी वकिल कार्यालयलाई सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गरी यस्ता कसुर विरुद्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि निर्देशन गरिएको छु।’

खरेलले बलात्कारको घटना सरकारवादी मुद्दा रहेकाले त्यस्ता घटनामा मिलापत्र गराउन जनप्रतिनिधि संलग्न भए कडा कानुनी कारबाही हुने बताएका छन्। जनप्रतिनिधि बलात्कारका घटना मिलापत्र गराउन संलग्न भए कानुनी कारबाहीको दायरमा ल्याउन पनि उनले मातहतका अनुसन्धान अधिकारीहरु सरकारी वकिललाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्