सुदूरपश्चिमको पहाडी जिल्लामा सुरु भयो उडान, यस्तो छ तालिका
काठमाडौं, असोज २७ । सुदूरपश्चिमको पहाडी जिल्लामा उडान सुरु भएको छ। कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको छ ।
बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विमान विहान धनगढी फर्केको छ ।सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको हो ।
२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो । द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो ।
पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले असोज १६ गते विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको थियो ।परीक्षण उडान सफल भएपछि मंगलबार नियमित उडान सुरु भएको हो । बझाङमा सातामा दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने समिट एयरको तयारी छ ।
यस्तै समिट एयरले बैतडी र डोटीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको छ । केहि दिन अघि मात्रै सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरिएको थियो । जसको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । उडान संगै अब सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् ।















प्रतिक्रिया दिनुहोस्