राजनीतिक खिचातानीलाई साम्य पार्न दुवै अध्यक्ष सक्रिय , कँडेललाई फिर्ता हुन निर्देशन

काठमाडौं, असोज २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको राजनीतिक खिचातानीलाई साम्य पार्न पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सक्रिय बनेका छन् ।

दुई अध्यक्षले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नेतृत्व गरिरहेका सांसद यमलाल कँडेललाई उक्त अभियानबाट पछि हट्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

ओली र दाहालबीच अहिले बालुवाटारमा छलफलसमेत जारी रहेको छ । यस छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी छन् ।

दुवै अध्यक्षले अविश्वास प्रस्तावको औचित्य नभएको र त्यसबाट फिर्ता हुन कँडेललाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । साथै कँडेल र मुख्यमन्त्री शाहीलाई थप छलफलका लागि काठमाडौं बोलाइएको छ ।

यसअघि अविश्वास प्रस्तावमा सहभागी भएका माधवकुमार नेपाल पक्षधर सांसदहरू उक्त प्रस्तावबाट पछि हटेर मुख्यमन्त्री शाहीसँग सम्झौता गरेपछि अविश्वास प्रस्तावको खेल लगभग निष्क्रिय भइसकेको थियो । अविश्वास पक्षधरले आज बोलाएको भेलासमेत प्रदेशमा हुन सकेको थिएन ।

यता बिहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत असन्तुष्ट पक्षहरूसँग छलफल गरेर निचोड निकाल्ने समझदारी भएको छ ।

योसँगै पार्टी अध्यक्ष ओलीले अविश्वासको प्रस्तावलगायत अरू प्रक्रिया अघि नबढाउन आफूनिकटका सांसदलाई निर्देशन दिइसकेका छन् । नेता नेपाल पक्षले त प्रचण्ड पक्षसँग सहमति नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्