दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको छैनः उद्योगमन्त्री भट्ट

काठमाडौं , असोज २७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका हुन् ।

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गरे । तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए ।

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उनले बताए । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।

आफुले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गरेका छन् । कर र राजश्वका विभिन्न विषयमा सुधार गरि उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्