मास्क लगाउनै मान्दैनन् भीआईपी : प्रधानमन्त्रीदेखि मन्त्री र सुरक्षा प्रमुखबाटै हेलचेक्रयाइँ

काठमाडौं , असोज २६ । गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ ।

संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ ।

तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् ।

प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् । सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रायः मास्कमै पार्टीका कार्यक्रम तथा भेटघाटमा देखिन्छन् । उनले पार्टीका बैठक र भेटघाटका कार्यक्रममा मास्क लगाएको पाइन्छ ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ ।

देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ ।

यस्तै, इनअफ इज इनअफका अनशनकारीलाई भेट्दा समेत देउवाले मास्क लगाएका थिएनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक्र्याइ गर्नेमा पर्छन् ।

उनले १५ साउनमा पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा मास्क खोलेर टेबलमा राखेको तस्बिर उनकै फेसबुक पेजमा छ ।

यसैगरी, सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन् ।

यस्तै, सबैभन्दा सावधानी अपनाउनेमा गृहमन्त्री रामबहादुर थापा देखिन्छन् । उनी हरेकजसो भेटघाट र भ्रमणमा मास्कमा नै देखिने गरेका छन् ।

यस्तै, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वअर्थमन्त्री युवराज खतिवडासमेत मास्कको सावधानीपूर्वक प्रयोग गर्ने मन्त्रीमा पर्छन् । सरकारका पर्यटनमन्त्री योगेश भट्टराई भने मास्कको प्रयोगमा सबैभन्दा बढी हेलचेक्रयाइ गर्नेमा पर्छन् ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्