कोरोनाको जोखिम बढ्यो: ‘काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लगाऊ’
काठमाडौं, असोज २५ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारसँग माग गरेको छ ।
नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
दसैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ ।
नगरप्रमुख प्रजापतिले तीनै जिल्लामा निषेधाज्ञा लगाउनका लागि समन्वय गरिने बताए ।दसैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयम्सेवक परिचालन गरी कोभिड १९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहेको उनले बताए ।
बैठकले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको दसैंमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरुलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरवासीहरुमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरुबाट मिलाउने निर्णय भएको प्रजापतिले बताए ।
निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गरिएको छ भने नजिकिँदै गएको दसैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको पनि बैठकमा जनाकारी गराएको छ ।















प्रतिक्रिया दिनुहोस्