वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि मात्रै

काठमाडौं , असोज २३ । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमविरुद्धको मुद्दा दसैंअघि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु होम आइसोलेसनमा रहेकाले दसैंअघि संवैधानिक इजलाश बस्‍ने सम्भावना टरेको छ । संवैधानिक इजलास नै नबस्‍ने भएपछि सो इजलाशमा जारी गौतमविरुद्धको मुद्दाको सुनुवाइ दसैंपछि मात्र हुने भएको हो ।

दसैंको फुलपातीदेखि पूर्णिमासम्म अदालत बन्द रहन्छ । फुलातीअघि न्यायाधीशहरु आइसोलेसनबाट निस्कने सम्भावना नरहेकाले पूर्णिमापछि मात्र संवैधानिक इजलाश बस्‍ने अदालत स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलाशमा गौतमको मुद्दामा सुनुवाइ हुनेछ ।गौतमको नियुक्ति असंवैधानिक भएकाले बदर हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा निवेदक त्रिपाठीको पक्षका कानुन व्यवसायी र प्रतिवादी गौतमको पक्षबाट महान्यायाधिवक्तासहितका सरकारी वकिल र गौतमका केही कानुन व्यवासयीले बहस गरिसकेका छन् । तर, बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्