डा . केसीको स्वास्थ्य गम्भीर, डाक्टरले भने- हृदयघातको जोखिम

काठमाडौं, असोज २३। २६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ।

उनको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको औंल्याएका छन्।

शुक्रबार केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरी केसीको स्वास्थ्य अत्यन्तै गम्भीर रहेको जनाएका हुन्।

उनलाई कुनै पनि बेला इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउने बुलेटिनमा जनाइएको छ।यस साथै उनलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ। उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ।

केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम छ। उनको रगतमा सुगरको मात्रा पनि कम छ। रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको बुलेटिनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्