अनशनरत डा. केसीसँगको वार्ता सहमतिनजिक, आजै सहमति गर्ने तयारी

काठमाडौँ, असोज २३ । सरकार र अनशनरत डा। गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक भएको भन्दै सम्भवतः आज बेलुकासम्म सहमति गरेर केसीले अनशन तोड्ने वातावरण बन्दै गएको जनाएका हुन् ।

सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले बिहीबार भएको वार्ता र छलफलका आधारमा आज पुनः औपचारिक वार्तामा बसेर टुंग्याउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ । हामी अहिले पनि अनौपचारिक वार्तामै छौँ । अनौपचारिक वार्ता सकेर औपचारिक वार्तामा बस्छौँ र टुङ्ग्याउने प्रयास जारी छ,’ संयोजक मैनालीको भनाइ छ ।

शुक्रबार दुई चरणमा भएको छलफलमा सहमतिको प्रारम्भिक मस्यौदा समेत तयार गरिएको छ । ६ सुत्रीय माग राखेर विगत २५ दिनदेखि आमरण अनसन बसेका केसीले राखेका मागमध्ये ६ मध्ये लगभग ५ वटा मागमा सहमति जुटिसकेको छ ।छैठौँ मागका बारेमा शुक्रबारको वार्तामा सहमति जुटाउने प्रयास हुने वार्ता टोलीमा रहेका सदस्यहरुको भनाई छ । केसीका तर्फबाट वार्तामा सहभागी डा। लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढिरहेको प्रतिक्रिया दिए । वार्तामा सरकारका तर्फबाट सचिव मैनालीको नेतृत्वमा ३ सदस्यीय र केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली सहभागी छ ।

यसैबीच नेपाल चिकित्सक संघले डा। गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै घोषणा गरेको विरोधका कार्यक्रम स्थगित गरेको छ । संघका महासचिव डा। बद्री रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र डा। केसीका तर्फबाट वार्ता टोली गठन गरी सम्वाद भइरहरेको र सकारात्मक वातावरण तय भएकाले विरोधको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

‘कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै संघबाट घोषणा गरिएको मिति २०७७ आश्विन २३ गतेको आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, संघको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्