ओली प्रचण्डबीच छलफल सकियो , एकताले अझै पाएन पूर्णता

काठमाडौं, असोज २२ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डललाई पुर्णता दिने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल भए पनि निष्कर्ष भने ननिस्किएको प्रचण्ड स्रोतले जानकारी दिएको छ ।

आजको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तीन नेताबीच छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी भएको स्रोतको दाबी छ ।

बिहान ११:४० बजेबाट सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि छलफल भएको थियो । ती विषयमा पनि दुई अध्यक्ष निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषय टुंग्याउन बसेको दुई नेताबीचको छलफल करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए । गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो ।

दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन । रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् ।

गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्