जाजरकोट जीप दुर्घटना अपडेट – ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो , एक जना बेपत्ता

काठमाडौं, असोज २१। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् । बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर श्रेष्ठले जानकारी दिए ।एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उनको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा ल्याइँदैछ । औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो ।

गाडी चालक गोरख बस्नेत भने फरार छन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिममा पर्छ । गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्