चाडपर्व नजिकिँदै गर्दा महानगरले बनायो बजार अनुगमन तीव्र

काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्‍न ठाउँमा बजार अनुगमनलाई तीव्र बनाएको छ ।

महानगरपालिकाले दसैं(तिहारलगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामान बिक्री(वितरण हुन सक्ने अवस्थालाई ध्यान दिँदै अनुगमनलाई तीव्र बनाएको हो । महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुललगायत ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नक्सालस्थित बिगमार्टमा केही कमी(कमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहेका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । त्यसबाहेक कालोपुलस्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँबराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उनले बताए ।

उक्त मार्टलाई दुई महिनाअघि पनि सोही सामान राखेको भनेर वाणिज्य विभागले कारबाही गरेको पाइएकाले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारबाहीको प्रक्रियामा जाने पनि उनले बताए ।

यस्तै अनुगमनमा रहेका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दसैं(तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री(वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तीव्र बनाइनुपर्ने बताए । जहाँ म्याद सकिएका सामग्री फेला पर्छ त्यहीँ नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविष्यमै आफ्नै कार्यपविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्