प्रदेश ५ राजधानी विवाद : नेकपाका २३ सय कार्यकर्ताद्वारा सामुहिक राजीनामा घोषणा

काठमाडौं , असोज २० । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का करिब २३ सय पार्टी सदस्यले राजीनामा दिएको घोषणा गरेका छन्।

विभिन्न उद्योग व्यवसायमा आबद्ध नेकपा कार्यकर्ताले बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन्।पार्टीबाट राजीनामा दिएको घोषणा गर्नेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत रहेको बताइएको छ।बुटवल र आसपासको क्षेत्रमा रहेका ३५ वटा व्यावसायीक संघसंस्थामा नेकपाका करिब २३ सय हाराहारी क्रियाशील पार्टी सदस्य छन्।

उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्। रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिए।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले राजनीतिक स्वार्थपूर्तिका लागि राजधानी सार्न खोजिएको बताए । उनले चुनावका बेलामा बुटवललाई प्रदेशको राजधानीमा बनाउने प्रतिबद्धताविपरीत प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश राजधानीमा बनाउन लागेको बताए ।

यस्त होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जीसीले कुनै पनि हालतमा प्रदेश सरकारले राजधानी सार्ने प्रस्ताव फिर्ता गर्नुपर्ने बताए । यो विधेयक कुनै पनि हालतमा फिर्ता गराउन आफूहरुले पार्टी परित्यागको घोषणा गरेको व्यवसायीहरुको भनाइ छ ।

यता संसदमा प्रस्ताव दर्ता भएदेखि नै विरोधमा उत्रिएका नेकपा सम्बद्ध व्यवसायीले दिएको राजीनामाका कारण रुपन्देही नेकपामा ठूलो धक्का लागेको छ।

प्रतिक्रिया दिनुहोस्