नेकपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, असोज २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज पनि बस्ने भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदुत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उहाँ निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।सहमति जुटाउनकै लागि असोज ६ गतेपछि ओली र प्रचण्ड लगातार छलफलमा छन्।

बिहीबार प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका, मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई साउथ अफ्रिकाको लागि राजदूत बनाउने निर्णय गरेपछि सचिवालय र केही स्थायी समिति सदस्य असन्तुष्ट छन्।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेर जाने संकेत पाएपछि कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्।अहिले अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय रिक्त छ। तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना कम देखेपछि ओली रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने पक्षमा छन्।

तर, पार्टी उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदरको माग गर्दै परेको मुद्दा अदालतमा हेर्दाहेर्दैमा भएकोले त्यसको अन्तिम निर्णय नआइन्जेल मन्त्रिमण्डल पुनर्गठन गर्न नहुने अडानमा प्रचण्डलगायतका सचिवालय सदस्य छन्।

मंगलबार बस्ने बैठकमा यसबारे पनि छलफल हुने सम्भावना छ।सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, यहिबीचमा प्रधानमन्त्रीका ४ जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित हुन पुगेको थियो ।यता सत्तारुढ दल नेकपाले असोज महिनाभित्र सम्पन्न गर्ने भनेको एकताको बाँकी काम निर्धारित मितिमा नसक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्