फर्किए अस्पतालबाट ट्रम्प, यस्तो छ उनको स्वास्थ्य

काठमाडौं , अुोज २० । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन् । उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए । ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए ।

अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन् । त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, “साँच्चिकै राम्रो महसुस भइरहेको छ । कोभिडसँग नतर्सिनुस् ।”

ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ । जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ । अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

प्रश्न पन्छाए ट्रम्पले
उनले ट्वीटमा भनेका छन्, “मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन् ।” डा। सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए । उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए ।

परस्पर विरोधी विवरणहरूपछि ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन् । ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायराबारे पनि अझैँ अस्पष्टता छ । अस्पतालबाट बिदा हुँदै उनले सबैलाई धेरै धन्यवाद भन्दै प्रश्नहरूको बेवास्ता गरेका थिए । जसमा एकजना संवाददाताको प्रश्न थियो, राष्ट्रपति के तपाईँ सुपर स्प्रेडर हो ?

२० वर्ष अघिभन्दा राम्रो
ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन् । उनले भनेका छन्, “हामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु ।”

अमेरिकामा कोभिड-१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ । ह्वाइट हाउसका थप कर्मचारीहरू पनि सङ्क्रमित पुष्टि भएको छ ।ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ ।

त्यसमा कैयौँ कनिष्ठ कर्मचारी छन् । यसअघि कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेकै बेला केही बेर गाडीमा बाहिर निस्किएको घटनालाई लिएर विज्ञहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए । उनले अस्पताल बाहिर रहेका समर्थकहरूप्रति आभार व्यक्त गर्न त्यसो गरेका थिए ।

तर त्यसो गर्दा उनको सुरक्षाका लागि खटिएका सदस्यहरू जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो । जसमा उनीसँग गाडीमा सवार व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्ने बताइएको छ । (बीबीसी

प्रतिक्रिया दिनुहोस्