डा. केसीसँग अविलम्ब वार्ता गर्न प्रधानमन्त्रीलाई देउवाको अपिल

काठमाडौं , असोज १८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनसनरत डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गर्न अपिल गरेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञिप्त जारी गर्दै प्रधानमन्त्री ओलीलाई वार्ताका माध्यमबाट डा। केसीका माग पूरा गरेर उनको जीवन रक्षा गर्न सार्वजनिक अपिल गरेका हुन् ।

डा। केसीको अनसन २१ औं दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर भएको कांग्रेसको ठहर छ ।

चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका केसीका मागहरु केवल एक व्यक्तिका मागमात्रै नभएर प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू भएका विज्ञप्तिमा उल्लेख छ ।

“जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले सुरूवातमा डा। केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,” सभापति देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्