निषेधाज्ञा तोड्दै बुटवलमा प्रदर्शन, बन्दका कारण जनजीवन प्रभावित
काठमाडौं, असोज १८ । प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रमा प्रदेश ५को राजधानी बनाउने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ। कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा आइतबार बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ।
कांग्रेस कार्यकर्ताहरु चोकचोकमा बसेर प्रस्तावको विरुद्धमा नाराबाजी गरिरहेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन्।आइतबार बिहानैदेखि स्थानीय प्रशासन लगाएको निषेधाज्ञा तोड्दै यहाँका स्थानीयले प्रर्दशन सुरु गरेका हुन्। नेपाली कांगे्रस र रुपन्देहीका सामाजिक संघ संस्थाको सन्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बुटवलका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
बुटवलको चार मन्त्रालय रहेको क्षेत्र र प्रदेश सभा रहेको क्षेत्रको निषेधाज्ञा क्षेत्रलाई प्रर्दशनकारीले तोडेका हुन्।बिहान रुपन्देहीका संघसंस्थाहरुको संयुक्त सञ्जालले बुटवलमा प्रदर्शन गरेको हो । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
यता प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ।
व्यवसायीहरुकै आह्वानमा दिउँसो ३ बजेपछि पनि बुटवलमै प्रदर्शनको तयारी थालीएको छ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ।
उक्त निर्देशनको उल्लंघन गर्दै बुटवलमा व्यावसायिक संघ संस्थाको संयुक्त संस्था सन्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलमै राजधानी कायम गर्न कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।आन्दोलन चर्किने संकेतपछि स्थानीय प्रशासनले बुटवलसहित रुपन्देहीमा सुरक्षा व्यवस्था कडा बनाएको छ।













प्रतिक्रिया दिनुहोस्