प्रदेश ५ राजधानी विवाद: बुटवलमा चार दिन निषेधाज्ञा, सरकारी प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप

काठमाडौं, असोज १८ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा चर्किएको आन्दोलन रोक्न प्रशासनले चार दिनसम्म निषेधाज्ञा गरेको छ ।

स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू गरेको निषेधाज्ञा यही २१ गते बेलुका ६ बजेसम्म जारी रहनेछ । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्नरगराउन रोक लगाइएको छ ।

पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै प्रदेश ५ का मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको शनिबार जारी गरिएको सूचनामा उल्लेख छ ।

यता प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिइएको उनले बताए ।सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ ।

प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा शुक्रबारदेखि बुटवलमा प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै केही सांसदले यो निर्णयको विरोध गरेका छन् भने प्रमुख प्रतिपक्षी दल लगायत विभिन्न समूहले बुटवलमा आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्