बाजुरामा आमासहित चार छोराछोरी वेपत्ता, नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धान

काठमाडौं, असोज १७ । दुर्गम जिल्ला बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा शुक्रबार चार छोराछोरीसहित आमा बेपत्ता भएकी छिन् ।

रुगीन गाउँमा घर भई कवाडीमा बस्दै आएका स्थानीय धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली र उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

डिएसपी मनजीत महराले भने, ‘एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको खबर छ, नेपाली सेना, प्रहरी र स्थानीयले नदी र वरपर संयुक्त रुपमा खोजी कार्य गरिरहेको भए पनि अहिलेसम्म भेटिएका छैनन् ।’

कवाडी बजार कवाडी नदी र कर्णाली नदीको संगमस्थल नजिकै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्