प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी राख्न प्रस्ताव

काठमाडौं, असोज १६ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय हो।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै अध्यक्षको सहमतिपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकपछि उक्त प्रस्ताव प्रदेश संसदमा पेश गरिएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन्। यता उक्त प्रस्तावमा सोमबार छलफल हुनेछ । मन्त्रीको उक्त प्रस्तावमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।

उनले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरे। उक्त प्रस्तावको भने प्रतिपक्षले विरोध गरेका थिए।त्यत्तिकैमा सभामुख पूर्णबहादुर घर्तीले संसद बैठक आउने १९ गते बस्ने गरी स्थगित गरेका छन्।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणसम्बन्धी छलफल संसदमा सुरू भएको बताए।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन।
रुपन्देही, कपिलवस्तु वा दाङ, कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद हुँदै आएको थियो।

प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।नेकपा महासचिव विष्णु पौडेल र कांग्रेसका बालकृष्ण खाँडले भने बुटवलका लागि लबिङ गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्