गान्धी जयन्तीः भारतले नेपाललाई दियो ४१ एम्बुलेन्स र ६ बस
काठमाडौँ, असोज १६ । भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ ।महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले यी सामाग्री प्रदान गरेको हो ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ वटा बस उपहारस्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।
शुक्रबार वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरेको जनाएको छ। नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् । एड्भान्स अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।
सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । दूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्